काठमाडौं, २१ असार । कोरोना महामारीले पूरै नेपाललाई नै अस्तव्यस्त बनाएको छ । नेपालमा हालसम्म कोराेनाका कारण ३४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको दर पनि दिन-प्रतिदिन बढ्दो क्रममा रहेको छ ।
तर कोरोनाको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा न भनेजस्ता व्यवस्थित क्वारेन्टाइन नै छन्, न त स्वास्थ्यकर्मीलाई व्यवस्थित उपकरण नै । यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैं जोखिम मोलेर उपचारमा खटिन बाध्य छन् । कोरोनाको महामारी सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेसनले यसलाई निरन्तरता दिएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच मुगु जिल्लाका स्थानीय तहका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मनघरी फाउण्डेसनको पहलम, आरम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा सामाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
अगुवा कार्कीले भने, ‘जति सक्यो उति चाँडै हामी सम्बन्धित स्थानमा स्वास्थ्य सामग्रीहरु पुर्याउने छाैँ ।’ मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान फस्ट एड किट पठाइएको उनले बताए । उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ ।
सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले कोरोनाको यो महाविपत्तिमा सबैले एक-एक गरी सहयोग गरे यो कहरबाट मुक्ति पाइने बताए । आपत परेका बेला नै मानिसको सहयोगी मन पहिचान हुने भएकाले सहयोगलाई निरन्तरता दिन आचार्यले आग्रह गरे ।
